पहिलो तथा धेरै हिंड्न नसक्नेहरु को लागि
१ काठमाडौं बाट नेपालगन्ज सम्म प्लेनमा । फेयर लगभग ५००० । नेपालगन्ज बाट मुगू को ताल्चा विमान्स्थल सम्म प्लेनमा । फेयर लगभग ७५००।
२ ताल्चा बाट लगभग ३ घण्टा हिंडे पछी रारा पुगिन्छ।
हैन म जुम्ला देखी हिंडेर जान चाहन्छु। हिंड्नु को मज्जा बेग्लै हुन्छ।
जुम्ला सम्म कसरी पुग्ने ?
रारा ट्रेकिङ सुरु हुने ठाउँ हो जुम्ला। प्राय सबैले जुम्लादेखी आफ्नो हिडाइ सुरु गर्छन्। हुन त कसैले दैलेख बाट तथा कसैले हुम्लाको सिमिकोट हुँदै पनि ट्रेकिङ गर्छन् तर सबै भन्दा प्रचलित भनेको जुम्ला बाट जानु नै हो । त्यसो भए जुम्ला सम्म कसरी पुग्ने त ?
काठमाडौं -जुम्ला डाइरेक्ट बस
काठमाडौं देखी जुम्ला सम्म डाइरेक्ट बसमा पुग्न सकिन्छ। बसमा समय लगभग ३६ घण्टा लाग्छ भने भाडा २००० जती।
प्लेनमा
काठमाडौं बाट नेपालगन्ज सम्म प्लेनमा । फेयर लगभग ५००० । नेपालगन्ज बाट जुम्लाको खलङा सम्म प्लेनमा । फेयर लगभग ४२०० ।
हामी गएको
काठमाडौं बाट नेपालगन्ज सम्म प्लेनमा । बिहान ८ बजेको फ्लाइटले ९ बजे तिर नेपालगन्ज पुगिन्छ। त्यहा पुगेर खाना खाने अनी ११ बजे तिर सुर्खेत सम्म हायसमा जाने। भाडा २०० । ३ बजे तिर सुर्खेत पुगिन्छ। त्यो दिन सुर्खेतमै बसेर भोली बिहानै जुम्ला जाने बस चढ्ने । हामी चै त्यही दिन ४:३० को बस चढेर गयौ। राती कर्णाली हाइवेमा गाडी नचल्ने हुँदा त्यो रात दैलेखको पातल खोला भन्ने ठाउँ मा बिताउने। भोली बिहान ५ बजे तिर हिंडेर बेलुका ८-९ बजे तिर जुम्ला पुगिन्छ। जुम्लाको खलङा भन्दा २५-३० कि।मी। वरै पर्छ कालिकोटको नाग्मा भन्ने ठाउँ। त्यहा बाट खलङा र जुम्ला कै सिन्जा उपत्यका जाने बाटो छुटिन्छ। हिंडेर रारा पुग्नेको लागि खलङा बाट भन्दा सिन्जा बाट सुरु गर्नु ठीक हुन्छ किन भने सिन्जा सम्म जाने बस पाईन्छ। त्यसैले सुर्खेतबाट बस चढ्दा सिन्जाको गोठिज्युला सम्म जाने बस चढ्ने । भाडा लगभग १२०० ।
जुम्ला देखी रारा
जुम्ला देखी रारा जाने दुई वटा उपाय छन । मैले माथि उल्लेखित गरे अनुसार सिन्जाबाट हिंड्ने अथवा खलङा बाट डांफे लेक हुँदै हिंड्ने । म्यापको लागि पोस्ट गरिएको तस्बिर हेर्नुहोस्।
![]() | ||
| फोटो : गुगल इमेज सर्च |
सुर्खेतबाट बसमा आउनेको लागि यो बाटो ठीक हुन्छ किनकी सिन्जा सम्म बसमै आउन सकिन्छ मैले माथि भने अनुसार। राती सिन्जाको गोठिज्युलामा बस्ने । भोली बिहानै त्यहा बाट हिंड्न सुरु गर्ने। बिहान ५-६ बजे हिंड्न सुरु गर्नु भयो भने बेलुका ७ बजे तिर माझघट्ट भन्ने ठाउँ पुग्नु हुनेछ। लगभग १२-१३ घण्टाको हिडाइ अत्यास्लाग्दो पक्कै हुन्छ । हामीलाई पनि सार्है गार्हो भएको थियो। त्यस माथि लुम्काधको भिर र चुचेमारा (३८०० मि ) चढ्न मै हुँ भन्नेलाई पनि गलाउने खालको हुन्छ। दु:ख गरेर १३ घण्टा हिंड्नुको कारण बाटोमा बस्ने कुनै घर त के भेडा चराउने मान्छे भेट्न नि मुस्किल हुन्छ। अर्को अली लामो बाटो पनि छ भन्ने सुनेको थियौँ । त्यो बाटोमा चै बस्ती हरु भेटिन सकिन्छ । तर हामी त्यो बाटो नगएको हुँदा खासै जानकारी छैन। गोठिज्युला बाट हिंड्ने बेलामा स्थानियलाई सोधेर हिड्दा ठीक हुन्छ।
त्यो रात माझघट्टमा बसेर भोली बिहानै १ घण्टा जती हिँडेर रारा पुग्ने।
खलङाबाट हिँड्ने
सिधै खलङा सम्म बसमा वा प्लेन मा आउनेले सिन्जा हुँदै नगएर डांफे लेक हुँदै जानु ठीक हुन्छ। यो बाटो अली लामो छ। पहिलो दिन हिँडेर चौथा गएर बस्ने। अनी दोस्रो दिन पुरै हिड्यो भने बेलुका सम्ममा रारा पुगिन्छ।
रारामा बस्नको लागि डांफे होटल छ। बस्न खान समस्या हुँदैन । हामीले जस्तो टेन्ट लिएर जानु भएको छ भने रारा छेउ मा क्याम्पिङ एरिया भनेर छ। त्यहा बस्दा हुन्छ।
सिन्जा हुँदै रारा पुग्ने ले फर्किदा डांफे लेक हुँदै फर्किनु ठीक हुन्छ। भने डांफे लेक हुँदै रारा जानेले सिन्जा हुँदै फर्किनु ठीक हुन्छ किनकी डांफे लेकबाट तल देखिने खलङा बजार र होराइजनमा लगभग १२० डिग्रीको आर्कमा देखिने हिमालको रेन्ज छुटाउनै नहुने द्रिश्य हो । त्यस्तै गरी चैत देखी जेठ भित्र जानु भएको छ भने चुचेमाराको हिउँमा १ घण्टा जती हिंड्न पाउनुको मजा नै बेग्लै छ।
हाम्रो रारा यात्राको पैलो दिनको संस्मरण पढ्न तलको लिन्कमा जानुहोस् ।
रारा यात्राको पहिलो दिन ।

No comments:
Post a Comment