Thursday, April 7, 2016

ओहो। क्या रारा ।। (पहिलो दिन)

जब देखी दिन भरीको हिडाइको थकान मिठो लाग्न थाल्यो, जब देखी कर्णालीको विकटतामा रमाइरहेकी अप्सराको बारेमा पढियो अनी जब देखी आफ्नो देशको भौगोलिक विविधतामा गौरव लाग्न थाल्यो । हो, त्यही बेला देखी हो मलाई रारा जान मन लागेको।

फोटो:मन्जुल भट्टराई
रारा जाने यो इछ्या दिनदिनै बढ्दै गैरहेको थियो। आउँदो चैतमा जसरी पनि जाने मनमनै निधो गरिसकेको थिए। भेरीस्क छाडेर एकै दिन लगप्वाइन्ट ज्वाइन गरेका थियौँ मैले र मन्जुल दाईले । दिउसो खाना खाएर यसो अफिस बाहिर टहलिदा मेरो यो इछ्या पनी सुनाइसकेको थिए मन्जुल दाई लाई। त्यो सुनाउँदा उहामा उत्साह बढेको पाउँथे। र सोच्थेँ अरु २ जना जती हुने हो भने त रमाइलो हुने थियो। दिन बित्दै थिए। एक दिन अफिस पुग्न नपाउँदै मन्जुल दाइले "विनय एउटा सल्लाह गर्नु छ आउ त" भनेर बोलाउनु भयो। "युवराज र मोहन रारा जाने प्लानमा छन जाने हो त?" युवराज दाई र मोहन दाई भेरीस्कमा काम गर्दा चिनेको दाइहरु। मन्जुल दाईका साथीहरु। ओहो ठ्याक्क सोचेकै जस्तो हुने भयो तर त्यही बेला घरमा लुम्बिनी जाने कुरा हुँदैथियो। मैले घरमा एकचोटी कुरा गरेर निर्णय गर्ने कुरा सुनाएँ । घरमा आएर राराका अनेकौँ वर्नन सुनाएर मेरो रारा ट्रेकिङमा समर्थन जुटाउन लागेँ। मेरो कारणले हाम्रो लुम्बिनी यात्रा क्यान्सिल भयो। म रारा जाने भए। लुम्बिनी जान नपाएकोमा म घरका सम्पूर्ण सदस्य सामु माफि माग्न चाहन्छु।

र यसप्रकार बन्यो हाम्रो रारा जाने ग्रुप, जाने भएँ म मेरो ड्रिम डेस्टिनेशन : रारा

नेपालगन्जसम्म प्लेनमा जाने सल्लाह अनुसार चैत ६ गते सनिवार विहान ८ बजेको टिकट काटिएको थियो। म भर्खरै किनेको ट्रेकिङ ब्यागमा माथि पट्टी म्याट र तलपट्टी टेन्ट घुसारेर फुर्तिका साथ निस्किए घरबाट । एयरपोर्ट पुग्दा ७:१५ जती भएको थियो। मन्जुल दाई र युवराज दाई पनि सँगै आइपुग्नुभयो भने मोहन दाई आफ्नो जीवनको पैलो फ्लाइट चढ्न उही लोकल बस चढ्ने पारामा आउनुभयो ७:३५ तिर । भारी झोलालाई लगेजमा पठाएर हामी हतार हतार लाग्यौ प्लेन तिर। भित्र छिर्नु अघी एउटा ग्रुप फोटो खिच्न नभ्याउने कुरै थिएन। खिचियो। सिटमा बसेपछी तेही फोटो युवराज दाईले इन्स्टाग्राम गर्दै फेसबुक तिर नि तेर्स्याउन भ्याए "फ्लाइङ टु नेपालगन्ज फर रारा ट्रेक" भन्दै। मैले पनि "ड्रिम डेस्टिनसन रारा: हेयर वि कम" भन्दै फेसबुके मित्रहरु चिढ्याउने काम गरेँ। र आफ्नो मोबाइल अफ गरिदिएँ। प्लेनको परिचारिका आफ्नो हँसिलो मुस्कान सहित प्रकट भइन र भन्न थालिन , "रन वे मा ट्राफिकको कारण हाम्रो फ्लाइट १५ मिनेटले डिले भएको छ"। र अर्की परिचारिका कुन पत्रीका पढ्नु हुन्छ भन्दै मुस्कान सहित पत्रीका बाड्न थालिन। मैले सोचेँ, यिनिहरुको योग्यताको पहिलो मापकनै यो मुस्कान हुनु पर्दछ, अनी त सकेसम्म आफुलाई हँसिलो बनाउँदैछन यिनिहरु। मैले रिपबलिका छानेँ र ओल्टाइपल्टाइ गर्न थालेँ।

केही समय पछी प्लेन उड्यो। उत्तरतिर लहरै बसेका हिम स्रिन्खलाको छेवै छेउ हामी उड्न थालयौ। विहान को कलिलो घाममा टलल टल्किएका चुचुरा हरु हेर्दै आफ्नो रारा यात्रा सुरु गर्नुको आनन्द बेग्लै थियो। हामीलाई यो एउटा माउन्टेन फ्लाइट जस्तो भइरहेको थियो। काठमाडौंबाट रारा घुम्न जाने सबैलाई म नेपालगन्ज सम्म प्लेनमा जान सुझाव दिन्छु(यदी पहिल्यै जानु भएको छैन भने)। युवराज दाई र म हिमालको साइड पट्टी बसेका थियौ अझ म झ्यालको छेउ मा। पछी हाम्रो सिट पछाडि खाली देखेर मन्जुल दाई र मोहन दाई पनि आउनुभयो। लाङ्टाङ, माछापुछ्रे, अन्नपूर्ण, धौलागिरीका चुचुराहरु चिनियो। अरु लहरै कती हो कती। यही आनन्दमा रमाउदै हामी लघभग १ घण्टा पछी नेपालगन्ज उत्रियौ। प्लेनबाट झर्दा झर्दै सबैले अाआफ्नो घरतिर फोन लाउन थालियो। फोन उठाउन नपाउदै मम्मी आत्तिएको स्वरमा भन्न थाल्नु भो "किन यत्रो बेर सम्म फोन अफ गरेको?"। मैले प्लेनमा बस्ने बित्तिकै मोबाइल अफ गरेको थिए र हाम्रो फ्लाइट २०-२५ मिनेट ढिलो उडेको थियो। घरमा आत्तिनलाई कारण पुगिहाल्यो। मैले सकुसल नेपालगन्ज उत्रे भनेपछी शान्त हुनुभो। 

नेपालगन्ज एयरपोर्टबाट अटोरिक्सामा बसपार्कतिर जाँदै । फोटो:युवराज रिमाल


एयरपोर्टबाट अटोरिक्सामा लगभग ६ कि।मी। मा रहेको बसपार्क पुगेर सुर्खेत जानेको हायसको टिकट काट्यौ। सुर्खेतबाट त्यही दिन प्राइवेट गाडीमा जुम्ला पुगिन्छ कि भनेर बुझ्न थालयौ। एउटा प्राइवेट बोलेरोले सुर्खेतबाट जुम्ला पुगेको भाडा ३२ हजार भनेपछी हामी तर्सियौ। र त्यो दिन सुर्खेत मै बस्ने र भोली बिहान जुम्ला को लागि हिंड्ने कुरा भयो। बसपार्क छेउको होटेल राप्तीमा खाना खायौँ। दाइहरुले मिठो मानी मानी खानु भो मलाई चै ठिकै लाग्यो। त्यस्तै ११ बजे तिर हामी नेपालगन्जबाट सुर्खेतको लागि हिड्यौ। भर्खरै हिमालका अग्ला चुचुरामा रमाएका हामी तराइका विशाल फाँटमा रमाउन थाल्यौँ। अहो , कती सुन्दर छ मेरो देश। कती विविधताले भरिपूर्ण।

बाटोमा जाँदा मैले दाईहरुलाई नेपालको चुरे रेन्ज, महाभारत रेन्ज र हिमालय रेन्ज कसरी लहरै मिलेर बसेका छन भनेर सुनाएँ। र चुरे भन्दा दक्षिण ईण्डियन प्लेट र हिमालय भन्दा पारी युरेसिअन प्लेट भएकाले हामी बफर जोनमा छौ र त्यसैले यहाँ भुकम्पिय जोखिम बढी छ भनेर सुनाइसक्दा दाई हरुले मलाई भुगर्व बिध नामाकरण गर्नुभयो। र पछी पनि भुगोल सम्बन्धी केही सन्दर्भ आएमा हाम्रो भुगर्व बिध लाई सोधौँ भनेर जोक हान्न थालनु भो। सुर्खेत यात्रा पनि सार्है रमाइलोको साथ बितिरहेको थियो। हाम्रो यो यात्रामा सुर्खेतदेखी म नपुगेको जिल्ला सुरु भयो। मलाई याद भएसम्म युवराज दाईको नि त्यही हो । मन्जुल दाई र मोहन दाईलाई चैँ बाँके(नेपालगन्ज ) देखी नै नयाँ थियो। हामी छिन्चु बजार आइपुग्यौ। छिन्चुमा एकछिन गाडी रोक्यो। हामी ओर्लेर केही खाने कुरा खोज्न थालयौँ। एउटा स्टलमा गएर एक एक प्लेट चाट खायौँ। मैले अर्को प्लेट नि चाट मगाएँ । युवराज दाई र मोहन दाईले फ्राइड राइस मगाउनु भो भने मन्जुल दाई जेरी खाने भन्दै अर्को होटेलतिर जानु भो।

३ बजे तिर हामी सुर्खेत पुग्यौँ। हाम्रो योजना त त्यो दिन सुर्खेतमै बस्ने थियो तर बसपार्कमा ओर्लेपछी चारै तिर मान्छे हरुले घेरेर हामीलाई बेग्ला बेग्लाई सुझाव दिन थाले। कोही भन्थे, भोली बिहान हिंडेर बेलुका जुम्ला पुगिदैन आजै जानु ठीक हुन्छ अहिले ४ बजेको गाडीमा। कोही भन्थे मेरो होटेलमा आज बस्नुस् भोली ४ बजे नै गाडी जान्छ तेसैमा जानुहोला। हामीले अर्को के कुरापनी थाहा पायौँ भने कर्णाली हाइवेमा राती गाडी चल्दैन , साघुरो र जोखिमपूर्ण बाटो भएकोले। त्यसैले अहिले ४ बजे हिंड्ने गाडी पनि अली पर पुगेर रोक्छ र सबैजना होटेलमा रात बिताउनुपर्छ। हामीले विचार गर्यौ जहाँ बसेपनी होटेलमै बस्ने भए पछी सुर्खेतमा नै किन बस्नु पर्‍यो बरु बाटो अली छोट्टिन्छ । हामीलाई सुर्खेत सोचेजस्तो राम्रो पनि अली लागिराको थिएन।

सुर्खेतबाट जुम्ला जाने गाडी। फोटो:युवराज रिमाल
यही विचारले हामी ४ बजे को गाडीको टिकट काट्न गयौँ। सिट लगभग भरिसकेको रहेछ। जसोतसो अगाडि पछाडि गरेर ४ वटा सिट त मिल्यो तर हामी सँगै नहुने भयौँ भनेर अली खल्लो लागिरको थियो। ठिकै छ भनेर हामी केही खाने कुराको खोजीमा हिड्यौँ। बसपार्क बाहिरको एउटा होटेलमा छिरेर समोसा, सेल र एक एक वटा चिसो खायौँ। युवराज दाई र मोहन दाई गाडी मा खाने भनेर वियर खोज्न हिंड्नु भयो भने हामी दुई जना चैँ गाडीमै गएर सिट मिलाउने भनेर फर्क्यौँ। धन्यवाद दिनैपर्छ गाडीको मान्छेलाई, हामीलाई अगाडि पछाडि हुने गरी सिट मिलाइदिए। आफ्नो सिट हामी सँग साट्न तयार भएका मान्छे लाई पनी धन्यवाद । र ४:३० तिर हामी सुर्खेतबाट जुम्लाका लागि प्रस्थान गर्यौँ। युवराज दाई र मोहन दाई बि साइडको १,२ मा मन्जुल दाई र  म ३,४ मा। साँझको समय, हल्का उकालो, भर्खरै गरेको पिच बाटो, दाँया बाँया जङल अनी क्लासिक हिन्दी गीत । हामी त्यसै त्यसै झुम्न थाल्यौँ। अझ एक समयमा खुबै सुन्ने गरेको "आँख हे भरी भरी" भन्ने गीतले मुटुको केन्द्रमै स्पर्श गर्‍यो। हिन्दी गीत पछी लोक दोहोरीको पालो आयो। मैले नसुनेका थुप्रै गीत हरु बज्न थाले । अगाडि युवराज दाई त एक एक हरफ नछुटाइ गाउदै हुनुदोरैछ। सब अच्चम्मित भइयो।

गाडीको भाईले मलाई सोध्यो "सरहरु रारा जान लाग्नु भएको?" मैले हो भनेँ। "एकबारको जुनीमा घुम्नु पर्छ सर, विदेशीहरु आएर हाम्रो देश घुम्छन हामी चै आफ्नै देश पनि घुमेको हुँदैनौँ।" भाईको कुराले घत लाग्यो , हाँसेर सहमती जनाएं।  

लगभग ३ घण्टा हिंडेपछी ७:३० तिर गाडी दैलेखको पातलखोला भन्ने ठाउमा रोकियो। हामीले त्यो रात बिताउने ठाउँँ। जम्माजम्मी १०-१५ घर होटल भएको ठाउँ थियो त्यो। हामी ओर्लने बित्तिकै एउटा होटल साहुले बस्ने कोठा देखाइदियो। खाना पनि त्यही खाने भइयो। खाना पाकुन्जेल हामी चन्द्रमाको उज्यालोमा टहलिने विचारले हिंड्न थाल्यौँ। चिसो चिसो मौसम, टहटह लागेको चन्द्रमा, हिंड्न रमाइलो भयो। फर्केर खाना खायौँ। हामी जती जती उत्तर लाग्थ्यौँ, खाना तेती तेती मिठो लाग्दैथियो।

रारा यात्राको पहिलो दिनलाई मैले ९ रेटिङ दिए। दाइहरुको नि तेस्तै थियो। यो हाम्रो जीवनको अविस्मरणिय यात्रा बन्ने छाटकाट देखिसकेको थिएँ मैले। एउटा ठुलो खाटमा खाँदमखाद गरेर, रारा कस्ती होलिन भन्दै हामी पल्टियौँ। कती बेला निदाइयो पत्तो भएन।

(पहिलो दिनको संस्मरण अली लामो भएकोमा क्षमा चाहन्छु। हरेक पलहरु यती रमाइला थिए कि मेरो स्‍मृतिमा मोती झै टल्किरहेका थिए। कुनै छुटाउन मन लागेन। दोस्रो दिन देखी संक्षिप्तमा हुनेछ। )

No comments:

Post a Comment